कांग्रेस बिभाजन हुनुमा डा. शेखरले दिए नियतिलाई दोष



काठमाडौं,१ माघ । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एकढिक्का हुन नसक्नुमा नियतिलाई दोष दिएका छन्।

पार्टी बिभाजन भएको भोलिपल्ट बिहीबार जारी गरेको वक्तव्यमा उनले
विभाजनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा तानाबाना बुनेको आरोपसमेत लगाएका छन्।पार्टी एक भएर निर्वाचनमा जानुपर्छ भन्नेमा सबैको इमानदार प्रयास रहे पनि त्यसमा सफलता नआएको कोइरालाको भनाइ छ।‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन। यसको पछाडि को दोषी, को निर्दोष भन्ने बहस गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न,’ उनले भनेका छन्, ‘हामी सबै कहीँ न कहीँ चुकेका छौँ भन्ने कुरा स्वीकार गर्न मलाई कुनै संकोच छैन।’

यसबीच भएका धेरै घटनाहरूको साक्षी बनेको उल्लेख गर्दै कोइरालाले देखिएका र नदेखिएका अनेक अन्तरविरोधबाट पार्टी गुज्रिनुपरेको बताएका छन्।‘यस अवधिमा घटेका कैयौँ घटनाहरूको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासलाई सुम्पन्छु,’ उनले भनेका छन्, ‘देखिएका र नदेखिएका अनेक अन्तरविरोधबीच हामी गुज्र्यौँ। राजधानीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका षड्यन्त्रका तानाबाना बुनेर कांग्रेसलाई कमजोर पार्न चाहनेहरूको स्वार्थलाई हामी रोक्न सकेनौँ।’

वर्तमान अवस्थालाई स्मरण गर्दै उनले बीपी कोइरालाको उदाहरण पनि दिएका छन्।‘बीपी कोइरालालाई ज्यानको बाजी लगाएर साथ दिने लाखौँ साथीहरू लोकतन्त्रको संघर्षमा अविचलित भएर लागिरहे, तर केही व्यक्ति र समूह बीपीलाई छाडेर गए। उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो,’ उनले उल्लेख गरेका छन्।

कांग्रेससँग आठ दशक लामो इतिहास जोगाउँदै निर्वाचनमा जानुपर्ने गम्भीर चुनौती रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्