गोमाको डिजाईनमा अन्तराष्ट्रिय फेस्टिबलमा खुलिन सरिता
काठमाडौँ,३० पुस । गायिका सरिता भारतीले आफ्नो चलचित्र ‘द चेन्ज’बाट बंगलादेशको ‘६ औँ बुगेरा अन्तराष्ट्रिय चलचित्र महोत्सव’मा ‘अनरेवल मेसन अवार्ड’ प्राप्त गरेकी छिन् । यो उनको पहिलो अन्तराष्ट्रिय महोत्सव हो । महोत्सवमा उनीसँगै निर्देशक डब्बु क्षत्री र अभिनेता प्रवण भुसाल पनि नेपालबाट सहभागी भएका थिए ।

चार दिनसम्म चलेको यो महोत्सवको लागि गायिका एवम् अभिनेत्री सरिता भारतीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘द चेन्ज’ अन्तराष्ट्रिय इन्टडोर समुहमा चयन भएको थियो । यही महोत्सवबाट चलचित्र ‘द चेन्ज’ले अन्तराष्ट्रिय प्रतिस्पर्धाको ‘अनरेवल मेसन अवार्ड’ जितेको हो ।
महोत्सवको लागि गायिका एवम् अभिनेत्री सरिता भारतीको लागि यसपटक अग्रज फेशन डिजाईनर एवम् बाटिका क्रियसन थापागाउँकी अध्यक्ष गोमा अधिकारी धितालले विशेष पहिरन निर्माण गरेकी थिईन् ।
महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा सहभागी हुन गायिका एवम् अभिनेत्री सरिता बंगलदेश गएका कारण उनलाई गोमाले राष्ट्रिय भावको पहिरन तयार गरेकी थिईन् । यो पहिरन अन्तर्गत सेतो सारीमा इम्बोयडरी मार्फत नेपालको राष्ट्रिय पन्छी डाँफे राखिएको थियो भने रातो मखमली चोलोमा नेपालका हिमाल र राष्ट्रिय फुल लाली गुराँस राखिएको थियो ।
‘६ औँ बुगेरा अन्तराष्ट्रिय चलचित्र महोत्सव’को रेड कार्पेट तथा अवार्ड समारोहमा गायिका एवम् अभिनेत्री सरिता भारती यो पोशाकमा निकै खुलेकी थिईन् । उनको सो पहिरनको धेरैले तारिफ गरेका थिए । सबैले पहिरनमा भएको डाँफे र लालीगुँराससँगै सो फेसन डिजाईनबारे चासो राखेका थिए । फेसन डिजाईनर गोमा अधिकारी धिताल बिगत एक दशकदेखि फेसन डिजाईनमा सक्रिय छिन् ।

