बोलेरो दुर्घटना हुंदा सोलुखुम्बुमा दुई जनाको मृत्यु,सात घाइते
सोलुुखुम्बु,२८ पौष । सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको माप्य दुधकोशीस्थित वाकुचोकबाट माप्य दुधकोशी गाउँपालिका–७ वरोदी रोचमतर्फ जाँदै गरेको बा ७७४२ नम्बरको डबल क्याब बोलेरो गाडी अनियन्त्रित भई घुरुन्दु नयाँपानीमा करिब १०० मिटर तल खसेर दुर्घटना हुदा चालकसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु निवासी २८ वर्षीय प्रदिप राई र यात्रु सोही ठाउँकी २८ वर्षीय कुशुम राईको मृत्यु भएको र हाल पोष्टमाटम भइरहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।घाइतेको उद्धार गरी स्वास्थ्य चौकी वाकुमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विभिन्न अस्पतालमा रेफर गरिएको थियो।
गम्भीर घाइते भएका २७ वर्षीय बलराम राई, ३० वर्षीय देबेन्द्र राई र ३१ वर्षीय सुरेश राईलाई थप उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल,काठमाडौं लगिएको छ । यस्तै १९ वर्षीय मनोज राई र १७ वर्षीय सदिप राईलाई जिल्ला अस्पताल फाप्लु, सोलुखुम्बुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका २७ वर्षीया देविका राई र २७ वर्षीया सबिना राईको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

