कांग्रेस नेताहरुबिरुद्ध पार्टी मुख्यालय सानेपामै कार्यकर्ताहरुको प्रदर्शन,पार्टीलाई बन्दी बनाएको आरोप



काठमाडौं,२२ पौष । नेपाली कांग्रेसभित्रमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवाद चर्किरहेका बेला नेताहरु आफ्नै पार्टी कार्यालय सानेपामा कार्यकर्ताहरुबाटै असुरक्षित हुन थालेका छन् ।पार्टी कार्यालय बाहिर बिशेष महाधिवेशनको पक्षमा प्रदर्शनरत कार्यकर्ताले नेताहरुलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गर्न थालेपछि उनीहरू असुरक्षित हुन थालेका हुन्।

मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गर्नुपर्ने स्थिति आएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा तनाव उत्पन्न भएको छ।प्रदर्शनकारीले नेतृत्वलाई दवाब दिने र आफ्ना मागहरू राख्ने तयारी गरेपछि प्रवेशमा कडाइँ गरिएको विशेष महाधिवेशन पक्षधरहरूले जनाएका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन वा दबाब दिन पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रहरी र पार्टी प्रशासनले गेटमै रोकेको छ। नेपाली कांग्रेस विधानअनुसार चार वर्षभित्र (२०८२ मंसिरसम्म) १५ औँ महाधिवेशन हुनुपर्ने प्रावधान छ।

तर, पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्ष समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबीच वैचारिक र रणनीतिक दूरी बढ्दै गएपछि विशेष महाधिवेशनको विवाद सतहमा आएको थियो।

मंगलबार सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको थियो। बैठक सुरु हुनुपूर्व नै विशेष महाधिवेशन पक्षधर नेताहरू र केही महाधिवेशन प्रतिनिधि कार्यालय पुगेका थिए।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच धकेलाधकेल भएको छ। पार्टी केन्द्रीय कार्यालय सोनपा घेराउका लागि पुगेका केही विशेष महाधिवेशन पक्षधरले नेता निधिलाई पार्टी कार्यालय प्रवेशमा अवरोध गरेका हुन्।

त्यही क्रममा निधि र प्रदर्शनकारी कांग्रेस कार्यकर्ताबीच धकेलाधकेल भएको छ। नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्