इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी



काठमाडौं,पौष २२ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कोषाध्यक्षमा उमा खड्का पाठकले उम्मेदवारी दिएकी छिन् । उनी इक्यानको अहिलेको कार्यसमिति सदस्य हुन् ।

इक्यानको निर्वाचन पौष २८ गते सोमबार काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले अध्यक्ष, उपाध्यक्ष तीनजना, महासचिव, सचिव दुइजना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र ९ जना सदस्य रहेको १८ जनाको कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । उमाले युएस्ए डिपार्टमेन्टको को–अर्डिनेटर भएर सक्रिय भूमिका निर्वाह गरेकी छिन् । उनको यो भूमिकाको कार्यसमितिभित्र पनि प्रसंशा गरिएको छ । उनले पहिलोपटक नेपालमा युएसएको युसेफ ट्रेनिङ पनि ल्याएकी थिइन् ।
उनले यो तालिम आफैंमा महत्वपूर्ण भएको र शैक्षिक परामर्श व्यवसायीहरुको हितमा भएको दाबी गरेकी छिन् । उनले युएसको तालिमको संयोजन पनि गरेकी छिन् । सदस्य हुँदा नै धेरै काम गरेर देखाएकी उनले कोषाध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा एकातिर संस्थाको हितमा काम गर्ने र अर्कातिर संस्थाको कोषलाई बलियो बनाउने बताएकी छिन् ।

१९ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय रहेकी उनी सेनेका एजुकेशन कन्सल्टेन्सी प्रालिकी संचालिका हुन् । उनले इक्यानले गरेका हरेक कार्यक्रममा आफ्नो पहलमा नै आर्थिक व्यवस्थापनामा प्रमुख भूमिका खेलेकी छिन् । इक्यानका पदाधिकारी र सदस्यहरु नै उनको त्यो सक्रियताको कदर गर्दछन् । ब्रिटिस काउन्सिल र iCEFको सर्टिफाइड काउन्सिलर उनी शैक्षिक परामर्श क्षेत्रलाई राम्रो बनाउन लागिपरेकी छिन् । उनी इक्यानको कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) की पनि प्रमुख हुन् । उनकै सक्रियतामा जाजरकोटमा पुस्तकालय निर्माण भएको छ ।

जाजरकोटमा गतवर्ष भूकम्प जाँदा पनि उनले त्यहाँ केही राहतका काम गरेकी थिइन् । उनले जिल्ला शाखामा आफ्नै पहलमा तालिम पनि संचालन गरेकी छिन् । ‘ म कोषाध्यक्ष भएपछि कोषलाई बृद्धि गर्ने योजना बनाएको छु, सदस्य हुँदा नै यति धेरै काम गरेको भनेर सबैले कोषाध्यक्षको उम्मेदवारीलाई सकारात्मक रुपमा लिनुभएको छ’ उनले भनिन् ‘सबैको सहयोगले इक्यानलाई राम्रो बनाउने र अन्तर्राष्ट्रिय जगतसम्म विश्वासिलो बनाउने मेरो प्लान हो ।’

उनले बाहिर रहेर बसेका शैक्षिक परामर्श व्यवसायीलाई इक्यानमा आबद्ध गराउने बताएकी छिन् । यो कार्यकालका लागि भएको निर्वाचनमा उनले ९ जना सदस्यमध्ये तेस्रो मत ल्याएर जितेकी थिइन् । ‘जुनसकै संस्था चलायमान हुन पनि आर्थिक रुपमा बलियो हुनुपर्ने भएकाले त्यो जिम्मेवारी निर्वाह गर्न सक्छु भनेर म अघि बढेकी हुँ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्