नेटवर्क मार्केटिङमार्फत ७० हजारभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने चिनियाँ नागरिकसहितको ठुलो गिरोह पक्राउ



काठमाडौँ,२१ पौष । साइबर ब्युरोले ‘एसएमसी’ एपको नाममा अनलाइन ठगी गर्ने एक ठूलो गिरोहको पर्दाफास गरेको छ । ‘एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि’ नामक कम्पनीको आवरणमा करिब ७० हजारभन्दा बढी सर्वसाधारणलाई नेटवर्क मार्केटिङमा आबद्ध गराई ठगी गरेको आरोपमा ११ जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथि १२ करोड आठ लाख १६ हजार ३७२ रुपैयाँ ठगी गरेको आरोप छ । ब्युरोका अनुसार यस संगठित ठगी प्रकरणमा एक चिनियाँ नागरिकसहित अन्य १० जना नेपालीहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक ही जियाङजियाङ, २१ वर्षीय मिलन श्रेष्ठ, १९ वर्षीय सौगात थापा, ३३ वर्षीय वीर बहादुर तामाङ, २३ वर्षीया सोनम खातुन र २३ वर्षीया प्रिया केसी रहेका छन् । त्यसैगरी २२ वर्षीया मोनिका गुरुङ, २१ वर्षीया गीता गुरुङ, ३७ वर्षीय नासिर मिया अन्सारी, ६६ वर्षीया सायरा खातुन र ६७ वर्षीय राम निवास प्रसाद कलवारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई काठमाडौँको ठमेल, लोलाङ, टोखा, तारकेश्वर, बुटवल र वीरगञ्जका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि सङ्गठित अपराध र विद्युतीय माध्यम सम्बद्ध ठगीको कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो गिरोहले चितवनको खैरहनी नगरपालिका-६ मा कार्यालय नै स्थापना गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्