विजय लघुवित्तको एफपीओ बिक्री प्रक्रिया सुरु,आजदेखि भर्न पाइने
काठमाडौं,२१ पौष । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (भीएलबीएस)ले सार्वजनिक निष्काशन (एफपीओ)मार्फत सेयर बिक्री प्रक्रिया सुरु गरेको छ । आज पुस २१ गतेदेखि थप संस्थापक र सर्वसाधारण सेयरधनीबीचको स्वामित्व अनुपात ७०ः३० कायम गर्ने उद्देश्यका साथ लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपछि कम्पनीको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहबीचको शेयर स्वामित्व अनुपात ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत कायम रहेको थियो। यही अनुपातलाई आवश्यक समायोजन गर्न कम्पनीले थप सेयर सार्वजनिक गर्न लागेको जनाएको छ।
लघुवित्तले कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ। यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ ।
एफपीओमा आवेदन दिने अवधि छिटोमा पुस २४ गतेसम्म रहनेछ भने उक्त अवधिभित्र सबै सेयर बिक्री नभएमा ढिलोमा माघ ५ गतेसम्म निष्काशन खुला रहनेछ। इच्छुक सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

