प्रतिनिधि सभा सदस्य उम्मेदवारमा गुरुङको एकल सिफारिसले दोलखा एमालेमा भाँडभैलो



दोलखा,२१ पौष । पार्टीभित्र मनोमानी र एकलौटी निर्णय गरिएको भन्दै दोलखा एमालेका उपसचिवसहित दर्जन बढी जिल्ला कमिटी सदस्यले सामुहिक राजीनामा दिएका छन् ।

एमाले दोलखाका उपसचिव हरि ओली सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा समितिका संयोजक इस्वरीप्रसाद दहाल सहित दर्जन बढी जिल्ला कमिटी सदस्यहरुले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा अधिकाँश कालिञ्चोक गाउँपालिकावाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नेहरु रहेका छन् । यस्तै, एमालेको कालिञ्चोक गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष गणेशवहादुर शिवाकोटी र सचिव सुवास थामी सहितका पदाधिकारीले पनि राजिनामा घोषणा गरेका छन् ।

उपसचिव ओलीले पत्रकार सम्मेलन गरी आफु सहित सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा कमिटिका संयोजक इस्वरीप्रसाद दहाल, जिल्ला कमिटी सदस्यहरु स्यामसुन्दर शिवाकोटी, इन्द्रबहादुर थामी, रमा शिवाकोटी, सविना केसी, कुमार बस्नेत, प्रलाद लामिछाने र विक्रम खड्काले सामुहिक राजीनामा दिएको बताएका हुन् ।

उपसचिव ओलीले पार्टी अध्यक्षले निश्चित व्यक्तिको इसारामा मनोमानी ढँगले पार्टी चलाएको र एकलौटी निर्णय गरेर अघि बढेका कारण आफुहरुले सामूहिक राजीनामा दिएको बताएका छन् । उनले जिल्लाका अन्य नेता, कार्यकर्ताहरु पनी राजीनामाको तयारीमा रहेको बताए ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न इच्छुक एमाले नेता बालकृष्ण शिवाकोटीको दावीलाई लत्याएर बहुमतका आधारमा नेता पार्वत गुरुङलाई एकल उम्मेदवार सिफारिस गर्ने एमाले जिल्ला कमिटीको निर्णयपछि उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्