भेनेजुएलामाथि अमेरिकी आक्रमणको राष्ट्रिय कम्युनिस्ट पार्टीद्वारा बिरोध
काठमाडौं,२० पौष ।राष्ट्रिय कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोविरुद्ध अमेरिकी सैनिक कार्यबाही विश्वभर युद्ध थोपर्ने र साम्राज्य फैलाउने दुस्साहस भएको बताएको छ।

केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख योगेश राल्फालीले आइतबार बिज्ञप्ति जारी गर्दै विश्व जगतलाई नै स्तब्ध बनाउने यो घटना सार्वभौमसत्ता सम्पन्न राष्ट्र भेनेजुएलाको प्राकृतिक श्रोत–खनिज तेल माथि हुने साम्राज्यवादी लुट रोक्ने प्रयत्न गरेकै कारण सुरक्षित आकासबाट आक्रमण गर्नु अमेरिकी साम्राज्यवादको कायरता भएको उल्लेख गरेका छन् ।
राल्फालीद्वारा प्रकाशित बिज्ञप्तिमा भनिएको छ,-भेनेजुएला जस्तो एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि अमेरिकाले आफ्नो सैन्य तागतको अहंकारमा साम्राज्यवादी आक्रमण गरि भेनेजुएलाको पुरै देशलाई हतोत्साहित पार्नुले २१ औं शताब्दीमा पनि एउटा सार्वभौमसत्ता सम्पन्न देशमाथि यस्तो नाङगो नाच अमेरिकाले जो देखाएको छ, यसप्रकारको कारबाही मानव जगतका विरुद्ध वितंडता हो । अमेरिकी साम्राज्यवादको यो कायरतापूर्ण आक्रमणको हाम्रो राष्ट्रिय कम्युनिष्ट पार्टी घोर विरोध र भत्सर्ना गर्दछ ।
आधुनिक युगमा पनि यस खाले साम्राज्यवादले विश्वभर युद्ध थोपर्ने र साम्राज्य फैलाउने दुस्साहस गर्दै आएको छ, अमेरिकाले यो वा त्यो बहानामा विश्वका प्राकृतिक श्रोत साधनहरु मुलतः खनिज र उर्जा क्षेत्र कब्जा गर्दै आएको छ, विश्का जनतामा असुरक्षित पार्दै विश्वको पर्यावरण ध्वस्त बनाउँदै आएको छ । यसले एकाधिकार पूँजीवादी साम्राज्यवादीका लागि कानुन भनेको कुनै पनि देशको कानुनी व्यवस्थाको धज्जी उडाउँदै आएको छ ।
सार्वभौमसत्ता सम्पन्न राष्ट्र भेनेजुएलाको प्राकृतिक श्रोत–खनिज तेल माथि हुने साम्राज्यवादी लुट रोक्ने प्रयत्न गरेकै कारण सुरक्षित आकासबाट आक्रमण गर्नु अमेरिकी साम्राज्यवादको कायरता हो । अमेरिकाले यस प्रकारको आक्रमण इरान माथि पनि गरिएको थियो र प्यालेस्टाईनको गाजा लगायत विश्वका अन्य देशहरुमा पहिले देखिनै यस खाले दुष्कार्य गर्दै आएका थिए । तर शान्ति चाहने विश्वका जनताका लागि भने शान्तिपूर्ण तरिकाले बाँच्ने अधिकार सुनिश्चित गर्न हाम्रो राष्ट्रिय कम्युनिष्ट पार्टी विश्व समुदाय र संयुक्त राष्ट्र संघसँग जोडदार माग गर्दछ ।
शान्तिपूर्ण तरिकाले बसिरहेका विभिन्न देशका जनताको अधिकार खोस्दै जबरजस्त एउटै देश बनाएर शक्तिशाली बनेको एकाधिकार पूँजीवादी अमेरिकी साम्राज्यवादले जुन प्रकारले विश्वका जनतामाथि आक्रमण गरेको छ, त्यसको प्रतिवाद त्यहीका शान्तिप्रेमी, प्रगतिशील, समाजवादी, मानवअधिकारवादी र मानवतावादी जनताबाट हुनु आवश्यक छ । त्यसैले अहिलेको युग भनेको पूँजीवादी साम्राज्यवादको अन्त्य गरी विश्वमा एक देश र अर्काे देशबीच भातृत्वको भावना, मानवतावादी अन्तर्राष्ट्रियतावाद र शान्तिपूर्ण प्रगतिको बाटोमा बाँच्ने वैज्ञानिक समाजवादी आधार तयार गर्न अमेरिकी क्रान्तिकारीहरु लगायत विश्वका क्रान्तिकारीहरुले चलाएको क्रान्तिकारी आन्दोलनमा एकताबद्ध हुन पनि हाम्रो पार्टी सबै अमेरिकी जनता र विश्वका क्रान्तिकारीहरुमा हार्दिक अपिल गर्दछ ।

