पूर्बमन्त्री खड्का सहित कांग्रेस- एमाले गण्डकीका नेता रास्वपामा प्रवेश
पोखरा,१९ पौष । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा, र एमाले गण्डकीका नेता पुष्प अधिकारी आज एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

खड्कालाई कांग्रेसले अन्तरघातको आरोपमा निष्कासन गरेपछि उनी रास्वपा प्रवेश गरेका हुन्। खड्का संघीय महिला, बालबालिका मन्त्री र गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका थिए।
रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
खड्का अखण्ड नेपाल पार्टीबाट समानुपातिक सांसद बनेर संघीय संसद प्रवेश गरेका थिए। सन् २०७४ को चुनावअघि कांग्रेसमा विलय भएपछि गण्डकी प्रदेशमा समानुपातिक सांसद हुँदै मन्त्री बनेका उनी कांग्रेसले आफ्ना उम्मेदवार विन्दुकुमार थापा लाई हराउन भूमिका खेलेको भन्दै निष्कासनमा परेका थिए।
अहिले खड्काको कांग्रेसमा कारबाही फुकुवा भइसकेको छ, तर उनी आफ्नो निर्णय अनुसार रास्वपामा जाने पक्षमा रहे।
उनीसँगै रास्वपा प्रवेश गरेकी कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा हाल गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको भाइबुहारी हुन्। साथै, ध्रुव थापाको पत्नी, जो अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) की पूर्वअध्यक्ष हुन्, पनि कांग्रेस परिवारको विरासत त्यागेर रास्वपा प्रवेश गर्न लागेकी छिन्।
एमाले गण्डकीका नेता पुष्प अधिकारी पनि रास्वपा प्रवेश गरेका छन्। अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक हुन् र अघिल्लो पटक पोखरा महानगरमा मेयरको आकांक्षी थिए। उनी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्थे।
जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित ध्रुवको घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी भएको थियो। यस घटनामा घरमा काम गर्ने एक महिला पनि जलेर मृत्यु भएको बताइएको छ।
रास्वपा प्रवेश गर्ने यो कदमले कास्की क्षेत्रमा राजनीतिक चर्चा र ध्यानाकर्षण भएको छ।

