इक्यान महासचिवमा हुमागाईको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता
काठमाडौं,१८ पौष । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय महासचिवमा भवनाथ हुमागाईले उम्मेदवारी घोषणा गरेका छन् ।
शैक्षिक परामर्श व्यावसायीहरुको सबैभन्दा ठूलो संस्था इक्यानका उनी अहिलेका प्रथम सचिव हुन् । उनले उम्मेदवारी हुनुपर्ने कारणसहित आफ्ना एजेण्डा पनि प्रस्तुत गरेका छन् । इक्यानको निर्वाचन पौष २८ गते काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

उनले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित,मर्यादित र सशक्त बनाउने साझा अभियानमा आफू निरन्तर क्रियाशील रहेको स्पष्ट पारेका छन् । एक कार्यकाल कार्यसमिति सदस्य भएर सचिव हुँदै काम गरेका उनी व्यावसायीसँग राम्रो सम्बन्ध राख्न सक्छन् । व्यवसायीलाई अप्ठ्यारो परेका बेला बोलिदिने र आवश्यक सहयोग गर्ने कुरामा पनि उनी पछि परेका छैनन् । यो कार्यकालमा पनि उनले राम्रो मत ल्याएर सचिव जितेका हुन् । उनले संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजकको जिम्मेवारी वहन गर्दै संस्थागत सुदृढीकरणमा योगदान गरेका छन् ।
संस्थालाई अब रणनीतिक सोच,निर्णायक नेतृत्व र ७ सयभन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता परेकाले पनि आफू महासचिवको रुपमा अघि सरेको उनले बताए । उनले पद लिनुभन्दा पनि केही काम गरेर देखाउने इच्छा भएकाले महासचिवको भूमिका खोजेको बताए । शाखालाई सशक्तिकरण गर्ने, संस्थाको गरिमा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनेलगायतका योजना उनले अघि सारेका छन् । ‘हामीले इक्यानमा एउटा यस्तो ‘प्रोफेसनल इकोसिस्टम’ निर्माण गर्नु छ, जहाँ नयाँ उद्यमीदेखि स्थापित व्यवसायीसम्म सबैको भविष्य सुनिश्चित होस् र राज्यले परामर्श क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक होस्’ उनी भन्छन् ।
उनले इक्यान र जिल्ला शाखाबीच प्रभावकारी समन्वय स्थापित गर्दै एकीकृत कार्यप्रणाली स्थापना गरेको, केन्द्र र शाखाबीचको दूरी घटाउँदै नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको, संगठनभित्र एकरूपता, विश्वास र कार्यान्वयन क्षमता बढाउन सहयोग पुर्याएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न अग्रणी भूमिका खेलेको, सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद, दस्तावेजी समन्वय र संस्थागत पहलमार्फत शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रियालाई पुनः सक्रिय बनाउन पनि निर्णायक भूमिका खेलेको उनले बताएका छन् । सचिवको भूमिकामा रहँदा धेरै काम गरेको बताउँदै उनले अब महासचिव भएपछि संस्थालाई नयाँ ढंगले सबैको विश्वास जितेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले नयाँ सदस्य बिस्तार गर्ने अभियान चलाएका छन् । उनले केन्द्र र शाखाबीच समन्वय गरेर सम्बन्धलाई परिणाममुखी बनाउने, केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र निर्धारण गर्ने, नियमित समन्वय गर्ने, कार्यसम्पादनमा आधारित प्रणाली विकास गरी संगठनलाई व्यवहारिक रूपमा बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी भूमिका खेल्दै शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग समन्वय गर्दै जाने बताए ।
मन्त्रालय, नियामक निकाय, कूटनीतिक मिशन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संस्थागत सम्बन्ध विस्तार गरी इक्यानलाई नीतिगत साझेदारको रूपमा स्थापित गर्ने लक्ष्य पनि उनले लिएका छन् । उनले आर्थिक स्थायित्व सुनिश्चित गर्ने, युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति तयार गर्ने, नयाँपुस्ताका व्यवसायीलाई मार्गदर्शन, क्षमता विकास र संस्थागत सहभागितामार्फत इक्यानभित्र अवसर र नेतृत्व विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्नेजस्ता योजना सार्वजनिक गरेका छन् ।
नयाँ अध्ययन बजारको पहिचान गर्ने, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा इक्यानलाई अग्रसर बनाउनेलगायतका योजना उनका रहेका छन् । उनले इक्यान सबैको साझा संस्था भएकाले एक पटक काम गर्ने अवसर दिन पनि सबै व्यावसायीहरुलाई आग्रह गरेका छन् ।

