गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौं,१५ पौष । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ साललाई स्वागत गरेर आज (पुस १५) तमु ल्होसार पर्व मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य तरिकाले मनाउँछन् ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका घट्दै जाने भएकाले पनि यो पर्वको महत्त्व रहेको जानकार बताउँछन् ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन् ।

