नेपाली कम्युनिस्ट पार्टी र नाउपाबीच एकताका लागि १० बुँदे सहमति
काठमाडौं,१४ पौष । पुष्पकमल दाहाल संयोजक,माधवकुमार नेपाल
सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ।

सोमबार नेकपा संयोजक दाहाल,सहसंयोजक नेपाल र नाउपा अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित १० बुँदे सहमतिअनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा नै रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने पनि सहमतिमा उल्लेख छ ।
त्यस्तै टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने पनि सहमतिको बुँदामा उल्लेख छ ।
यसअघि श्रीमान् रेशम चौधरी रहेको नाउपा नेपालसँग एकता गर्ने भने पनि रञ्जिता नेतृत्वको नाउपा नेकपासँगको एकीकरण प्रक्रियामा जाने भएको हो । करिब ४ महिनाअघि पार्टीबाट अलग भएका रेशमले कात्तिक २ गते कबिर सोबको नेतृत्वमा नाउपा नेपाल गठन गरेका थिए । रेशम र रञ्जिताले पुस १२ गतेका लागि पार्टी एकीकरणको समयसमेत तोकेका थिए ।

