प्रथम पूर्व सशस्त्र प्रहरी सम्मेलन तथा १८औँ साधारण सभा सम्पन्न



काठमाडौं,१४ पौष ।सशस्त्र प्रहरी बल नेपालको २५औँ वार्षिकोत्सव तथा रजत महोत्वसको अवसर पारेर नेपाल पूर्व सशस्त्र प्रहरी संघले मधेश प्रदेशमा प्रथम पूर्व सशस्त्र प्रहरी सम्मेलन २०८२ तथा १८औँ साधारण सभाको आयोजना गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा पौष १४ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा उक्त सम्मेलन तथा साधारण सभाका आयोजना गरिएको हो । सोही अवसरमा महानिरीक्षक अर्यालले जेष्ठ सदस्य, वीरगती प्राप्त अमर सशस्त्र प्रहरीका परिवारजन तथा सशस्त्र प्रहरी उपचार सहायता तथा राहत कोषमा रकम प्रदान गर्ने महानुभावहरुलाई समेत नगर पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

महानिरीक्षक अर्यालले सेवामा कार्यरत रहि कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राण उत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुहुँदै घाईते तथा अंगभंग भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुप्रति शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालमा सेवारत रहि आफ्नो उर्जाशिल कालखण्डलाई राष्ट्रको सेवा र शान्ति सुरक्षा तथा मातृभूमिको रक्षामा समर्पण गरी स–सम्मानपूर्वक अवकाश हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई एकजुट हुन यस्ता कार्यक्रम अति नै महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै नेपाल पूर्व सशस्त्र प्रहरी संघले गर्दै आईरहेको कार्यहरु समेत सह्रानिय रहेको बताउनुभयो ।

महानिरीक्षक अर्यालले सेवाको कालखण्डमा अनुभव गर्नुभएका ज्ञान र सिपलाई संगठनका हित, प्रतिष्ठा र भावी पुस्ताको मार्गदर्शकको लागि नेपाल पूर्व सशस्त्र प्रहरी संघको नेतृत्व, पदाधिकारी र सदस्यहरुको क्रियाशिलताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै पूर्व अग्रजहरुको अनुभव, सल्लाह र सकारात्मक सुझावले सशस्त्र प्रहरी कर्मचारीहरुलाई मात्र नभई सिंगो संगठनलाई जिम्मेवार, उत्तरदायी र प्रतिवद्ध गराई अगाडी बढ्न सहयोग पुगेको बताउनुभयो ।

सेवामा प्रवेश गरिसकेपछि एक दिन अनिवार्य अवकाश हुनैपर्छ, त्यसैले अवकाश पश्चात देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई एक सुत्रमा बाँध्ने, एकता कायम गर्ने, विगतमा भएका कामकारवाहीलाई भविष्यमा समेत नयाँ सोच र सकारात्मक भावनाकासाथ परिवर्तन गर्दै जानु पर्ने कुरामा महानिरीक्षक अर्यालले जोड दिनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालका सबै बाहिनी मुख्यालय अन्तर्गत रहेका अस्पतालहरुमा अझ बढी साधनश्रोत, जनशक्ति र उपकरणको व्यवस्था गरी अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका आश्रित परिवारलाई समेत उपचारको व्यवस्था मिलाउनुकोसाथै सहुलियत ऋण प्रवाह, सन्ततीहरुलाई एपीएफ स्कूल तथा कलेजहरुमा थप कोटा बृद्धि र वीरगति प्राप्त आश्रित परिवारलाई जीवन निर्वाहमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले धनुषा र सर्लाहीका मानवसेवा आश्रम संचालकहरु रिता पोख्रेल र विवेक महतोलाई ५०/५० थान ट्याक्सुट समेत हस्तान्तरण गर्नुभएको छ ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुप्रति लक्षित गरी संगठनले लिएको विभिन्न कल्याणकारी तथा अन्य कार्यक्रमप्रति हार्दिक धन्यवाद दिनुहुँदै यस्ता कार्यक्रमले सम्पूर्ण अवकाशप्राप्त कर्मचारीमा हौसला बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अवकाश पश्चात देश विदेशमा छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भई देश र संगठनलाई आवश्यक परेको समयमा सेवारत रहँदाका अनुभवहरुलाई समेटि थप जनशक्तिको रुपमा कार्य गर्न तयार रहेको बताउनुहुँदै यस्ता कार्यक्रम क्रमशः सबै प्रदेशमा संचालन गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका पूर्व सल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले उच्च मनोवलकासाथ सेवामा प्रवेश गरी अवकाश प्राप्त गर्नुभएका सम्पूूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनलाई आवश्यक परेको बखत एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

त्यसैगरी संघका बरिष्ठ उपाध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सुवोध कुमार अधिकारीले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु म होईन हामी भन्ने भावना लिई देश र संगठनलाई आवश्यक परेको समयमा एकजुट हुने र संगठनको लागि कार्य गर्ने कुरामा जोड दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले अवकाश पश्चात देशभर छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई एकजुट हुन यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने र अवकाशप्राप्त कर्मचारीहरुलाई एकताबद्ध भई संगठनको हित र प्रगतिको लागि सकारात्मक तथा रचनात्मक सहयोग गरिरहनेमा विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा संघका महासचिव अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रेमराज पोख्रलले संघको वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नं. १ र ३ बाहिनी मुख्यालयका बाहिनीपतिहरु, तालिम केन्द्रका समादेशकहरु, गणपति लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्