दुईवटा अत्याधुनिक पेस्तोल र गोलीसहित काठमाडौंबाट तीन जना पक्राउ



काठमाडौँ,१४ पौष । जिल्ला प्रहरी परिसर काठमाडौँले बाफल क्षेत्रबाट दुईवटा अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाइछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय ‘जस्वन’ भन्ने अश्विन राई रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुईवटा पेस्तोल बरामद गरेको छ । हतियारसँगै उक्त पेस्तोलमा लाग्ने तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्