समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु



काठमाडौं,१३ पौष । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ ।

आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया समयसीमा भित्रै सम्पन्न गरिने स्पष्ट पारे । पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता र सूचीको संरचना जाँच गरिने आयोगले जनाएको छ ।

छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई त्रुटि सच्याउने अवसर दिइनेछ । त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म पुनः परीक्षण गरी माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गरिनेछ । अन्ततः माघ २० गते समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशन गरिने आयोगको कार्यतालिका छ

प्रतिक्रिया दिनुहोस्