बिपि संस्कृत विद्यापीठमा एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी सम्पन्न
सोलुखुम्बु,११ पौष । विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको पहलमा एकदिने अनुसन्धानमूलक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

विद्यापीठका निमित्त प्राचार्य पशुपतिकुमार ढुङ्गानाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रम विद्यापीठको सभाहलमा आयोजना गरिएको थियो। कार्यशालामा पिण्डेश्वर विद्यापीठ,धरानका उपप्राध्यापक डिल्लीप्रसाद निरौलाले अनुसन्धान लेखन,अनुसन्धान पद्धति तथा शैक्षिक अनुसन्धानको व्यवहारिक पक्षका विषयमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।
उहाँले अनुसन्धानलाई शैक्षिक गुणस्तर अभिवृद्धिको आधारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।कार्यक्रमको प्रारम्भमा अनुसन्धान व्यवस्थापन एकाइका संयोजक जगतमणि सोतीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै अनुसन्धान संस्कृतिको विकास र शिक्षक–शिक्षार्थीलाई अनुसन्धानतर्फ अभिप्रेरित गर्नु नै यस कार्यशालाको मुख्य लक्ष्य रहेको बताउनुभयो।
कार्यशालामा हिमाल दर्शन क्याम्पस,हिमाल दर्शन माध्यमिक विद्यालय, केदार माध्यमिक विद्यालय,महेन्द्रोदय माध्यमिक विद्यालय तथा वी.पी. संस्कृत माध्यमिक विद्यालय गरी पाँचवटा शैक्षिक संस्थाका १५ जना सहभागीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापन सत्रमा सहभागी प्रशिक्षार्थीहरूलाई विद्यापीठका निमित्त प्राचार्य पशुपतिकुमार ढुङ्गाना,प्रमुख प्रशिक्षक डिल्लीप्रसाद निरौला र प्रशासन प्रमुख लोकेन्द्र बहादुर राउतले संयुक्त रूपमा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूले कार्यक्रम अत्यन्तै फलदायी रहेको प्रतिक्रिया दिँदै यस्ता अनुसन्धानमूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। यस अवसरमा विद्यापीठका उपप्राध्यापकहरूले अनुसन्धानको प्रभावकारिता र शैक्षिक विकासमा यसको भूमिकाबारे समेत चर्चा गरेका थिए।
कार्यक्रमको सफलतापछि विद्यापीठले भविष्यमा पनि यस्ता अनुसन्धानमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

