रवि र बालेन सहमति नजिक
काठमाडौं,११ पौष । वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्यको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाह सहमतिको नजिक पुगेको छ।
फागुन २१ का लागि तोकिएको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने दिन पुस १३ अगावै सहमतिको घोषणा गर्ने गरी गृहकार्य भइ रहेको निकटवर्ती श्रोतले जनाएको छ ।

पुस ७ गते सोमबार र १० गते बिहीबार दुईपटक गरी भएका छलफलमा रवि र बालेनबीच पावर शेयरिङ र पदीय हैसियतबारे प्रारम्भिक कुराकानी भएपनि टुंगिन बाँकी रहेको स्रोतको भनाई छ। ।
प्रमुख संसदवादी दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभा पुन:स्थापनामा जोडबल गरिरहेका बेला वैकल्पिक भनिएका दल पुन:स्थापनाले निकास नदिने भन्दै चुनावको तयारीमा लागेका छन् ।
रवि–बालेन सहमतिमा उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेत समेट्नेबारे छलफल भइरहेको बालेनसँग भेट गरेकाहरूले बताएका छन् । कुलमान र बालेनबीच बिहीबार बिहान पनि छलफल भएको थियो ।
आन्दोलनमा सक्रिय केही जेनजी प्रतिनिधि समेतलाई समेटेर नयाँ वैकल्पिक शक्ति घोषणा गर्ने गृहकार्य चलिरहेको रवि–बालेनसँग निरन्तर संवादमा रहेको स्रोतले बतायो । लामो मौनता तोड्दै बालेनले संसदीय राजनीतिमा आउने संकेत हिजोको भेटमा दिएका थिए । बालेनले पहिलो संसदीय निर्वाचन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापाबाट लड्ने संकेत निकटस्थहरूलाई दिएका छन् ।

