स्थानीय तह कर्मचारी संघद्वारा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य भोलानाथ पोखरेललाई सम्मान
काठमाडौं,पौष १० । स्थानीय तह कर्मचारी संघ, नेपालले नेकपा एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका भोलानाथ पोखरेललाई सम्मान गरेको छ ।
संघको केन्द्रीय कार्यालय भृकुटीमण्डप काठमाडौंमा आज पोखरेललाई सम्मान गरिएको अध्यक्ष नारायणप्रसाद शर्माले बताए । पोखरेलले खसेको २१ सय २७ मतमध्ये समावेशी (श्रमिक) खुला तर्फबाट १५ सय २६ मत ल्याएर निर्वाचन जितेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहेका उनले सरकारी जागिरबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए । ‘हुँदाखाँदाको सरकारी जागिर छोडें त्यसमा कुनै गुनासो छैन, केही वर्ष अझै जागिर खान पाउँथे, बढुवा हुन्थ्यो होला, अरु पनि के–के हुन्थ्यो तर सक्रिय राजनीति गर्ने सोच बनाएँ’ पोखरेलले भने ‘जसले मलाई सम्झेर मतदान गर्नुभयो र जसले सहयोग गर्नुभयो त्यसका लागि आभार व्यक्त गर्दछु ।’ उनले आफूले पनि श्रमिकको तर्फबाट नै निर्वाचन जितेकाले श्रमको र श्रमिकको भावनाको सम्मान हुने गरी बैठकमा कुरा उठाउने बताए । पोखरेलले खादा लगाइदिँदा भनेका थिए ‘मलाई यो खादाले थप जिम्मेवारी दिएको छ, यो क्षेत्र बुझेकाले तपाइहरुका कुरा केन्द्रसम्म लैजाने छु ।’ बधाईसँगै दिइएको प्रमाणपत्रको व्यवहोरा महासचिव बरालले वाचन गरेर सुनाएका थिए । पोखरेललाई अध्यक्ष शर्मा, उपाध्यक्ष जानुका श्रेष्ठ, महासचिव शम्भु बराललगायतले खादा लगाएर बधाई दिएका थिए । संघले एमालेको महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पनि एकमुष्ट रुपमा बधाई दिएको छ ।
संघले आफ्ना संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठलाई पनि एमालेको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गरेको छ । श्रेष्ठ केन्द्रीय लेखा आयोगको सदस्यमा १७ सय ९० मत ल्याएर निर्वाचित भएका हुन् । श्रेष्ठलाई पनि बधाई दिइए पनि उनी भनें काठमाडौं बाहिर भएकाले सम्मान कार्यक्रममा उपस्थित थिएनन् ।
संघको बिहीबार बसेको सचिवालय बैठकले संघको केन्द्रीय समितिको पाँचौ बैठक फाल्गुण ६ र ७ गते धनकुटाको भेडेटारमा बस्ने निर्णय पनि गरेको छ । समसामयिक विषयमा छलफल गर्दै केन्द्रीय समितिको बैठकको मिति टुंगो लगाएको उपमहासचिव विष्णु पौडेलले बताए ।

