विप्लवले गरे सुशीला सरकार भंग गरेर सर्बपक्षीय अन्तरिम सरकार गठनको माग



काठमाडौं,९ पौष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

मंगलबार शीतल निवास पुगेर पार्टी महासचिव विप्लव सीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र आवश्यक सुधारसम्बन्धी माग उल्लेख गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

जेन–जी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको दाबी गर्दै विप्लव नेतृत्वको पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ। गणतन्त्र स्थापनापछिका १८ वर्षमा भ्रष्टाचार, दलीयकरण र बेरोजगारी मौलाउँदै गएको भन्दै त्यसकै कारण जनता सडकमा उत्रिएको दाबी गरिएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र संविधान पुनर्लेखनको अडान पनि अघि सारेको छ।

त्यसैगरी भदौ २३–२४ का घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने, भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने, भ्रष्टाचारमा संलग्नको सम्पत्ति राष्ट्रियकरण गर्दै जन्मकैदको सजाय दिनुपर्ने, तथा कालोधन नियन्त्रणका लागि ५ सय र १ हजारका नोट खारेज गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएका छन्।

१० दिनभित्र माग सम्बोधन नभए सडक संघर्षमा उत्रिने चेतावनी पार्टीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्