महासचिव पोखरेल लिएर देउवा भेट्न महाराजगन्ज पुगे ओली
काठमाडौं,७ पौष। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पुनःभेटवार्ता भएको छ । सोमबार महासचिव शंकर पोखरेल लिएर (पुस ७) ओली देउवा भेट्न काठमाडौंको महाराजगन्जस्थित उनको निवास पुगेका हुन् ।

‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ । संसद पुनःस्थापनाका लागि कांग्रेस-एमालेका तर्फबाट पुरक निवेदन पेश गर्ने तयारी भइ रहेका बेला बिघटित प्रतिनिधि सभाका प्रमुख दुई दलका प्रमुख नेताहरुको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गएको मंसिर २९ गते ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर देउवा दम्पती भेट्न महाराजगन्ज पुगेका थिए । त्यस लगत्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे लगायतका सांसदहरुले बिघटित संसद पुनर्स्थापित गर्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
नेकपा एमालेले त्यस अघि नै संसद पुनर्स्थापनाको माग गर्दै संस्थागत रूपमा मुद्दा गरिसकेको छ । नेपाली कांग्रेसले भने हालसम्म संस्थागत निर्णय गरेको छैन।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पती बूढानीलकण्ठस्थित निवासमा कुटिएका थिए । ओली दम्पती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकोप्टरमार्फत बाहिरिएका थिए ।

