वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज



काठमाडौं,६ पौष । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय सरकारले फिर्ता लिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराएका हुन् । यसअघि परीक्षण शुल्क ६ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्‍याइएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले अब ६ हजार ५ सय मात्र शुल्क लिन पाउनेछन् । मन्त्रालयका अनुसार यसअघि केही स्वास्थ्य संस्थाहरूले तोकिएको भन्दा बढी शुल्क लिएको भन्ने गुनासो आएपछि शुल्क दर स्पष्ट गरिएको हो ।

मन्त्रालयले २०७९ मंसिर १० गते र २०७९ माघ ३० गतेका निर्णयका आधारमा स्वास्थ्य परीक्षण शुल्क अधिकतम ६,५०० रुपैयाँ कायम गरेको जनाएको छ ।वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सम्बन्धी निर्देशिका, २०७९ अनुसार यो निर्णय लागू गरिएको मन्त्रालयले स्पष्ट पारेको छ । साथै, निर्णयअनुसार तोकिएको शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई तोकिएको दरभन्दा बढी शुल्क नतिर्न र बढी लिएको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ । सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात् छ हजार ५०० कायम गरेको हो । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीको पालामा २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय मार्फत स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरी ९ हजार ५०० रुपैयाँ कायम गराइएको थियो ।

त्यसबेला पनि विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिए पनि गत मंसिरमा बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुनः खारेज भएको हो ।

प्रतिक्रिया दिनुहोस्