सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ,झुटो कारोबार तथा सेयर मूल्य कृत्रिम रूपमा प्रभावित पारेको आरोप
काठमाडौं,४ पौष । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई झुटो कारोबार तथा सेयर मूल्य कृत्रिम रूपमा प्रभावित पारेको आरोपमा पक्राउ गरेको छ ।

सीआईबीका अनुसार अग्रवालले सेयर मूल्य बढाउन भ्रामक सूचना फैलाउने, झुटो कारोबार गर्ने र त्यसबाट अवैध नाफा आर्जन गर्ने गतिविधि गर्दै आएका थिए । यसअघि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएपछि सोही अनुरोधका आधारमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा अग्रवालले सस्तो मूल्यमा सेयर खरिद गरी सामाजिक सञ्जालमार्फत गलत प्रचारप्रसार गर्दै लगानीकर्तालाई सेयर किन्न उक्साउने र निश्चित मूल्यसम्म पुर्याइदिने झुटा आश्वासन दिने गरेको खुलेको छ । लगानीकर्ताले खरिद गर्न थालेपछि भने उनले आफ्नै सेयर बिक्री गर्ने गरेको पाइएको छ ।
यस विषयमा उजुरी परेपछि धितोपत्र बोर्डले अध्ययन गरेको थियो । बोर्डको अध्ययनले पनि अग्रवालले झुटो कारोबार तथा भ्रामक सूचना प्रयोग गरेको निष्कर्ष निकालेको थियो ।
सीआईबीका अनुसार बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा प्रतिवादी दीपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी भ्रामक सूचना सार्वजनिक गर्दै उच्च मूल्यमा बिक्री गरी करिब ४९ लाख १९ हजार रुपैयाँ गैरकानुनी नाफा आर्जन गरेको आरोप लगाइएको छ ।
त्यस्तै, उनले आपसी खरिद–बिक्री तथा आफन्त र सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको समेत सीआईबीले जनाएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको आरोप उनीमाथि लागेको छ ।
धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सीआईबीले काठमाडौंको चुनदेवीबाट अग्रवाललाई पक्राउ गरेको हो ।
अनुसन्धानमा अग्रवालले अन्य व्यक्तिका कारोबार खाता आफैं सञ्चालन गर्ने, ब्रोकरसँग लिनुपर्ने रकम असुल गर्ने तर तिर्नुपर्ने रकममा विभिन्न बहाना बनाउँदै भुक्तानी नगर्ने गरेको समेत खुलेको छ । साथै, एक कारोबार खाताको रकम अर्को व्यक्तिको खातामा स्थानान्तरण गर्ने कार्य गरेको भन्दै धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

