नगर प्रमुख शेर्पाद्वारा सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन शिलान्यास



सोलुखुम्बु, पुस ३ गते । सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सो भवनको सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दै सोलुखुम्बु बहुमुखी क्याम्पस जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण केन्द्रको रूपमा स्थापित भएको बताए । समृद्ध समाज र राष्ट्र निर्माणको आधार भएकाले स्थानीय तहबाट शिक्षामा गरिने लगानीलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्दै नगरप्रमुख शेर्पाले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

करिब ३२ वर्षदेखि अपर सगरमाथाका सोलुखुम्बु,ओखलढुङ्गा र खेटाङको समेत शैक्षिक केन्द्रका रुपमा रहेको उक्त क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले प्रशासनिक भवन निर्माणका लागि गएको असोज २३ गते निर्माण कार्य सुरु गरिएको र आगामी २०८३ साल पुस ३० गतेभित्र सम्पन्न गर्ने जानकारी दिए ।

भवन निर्माणका लागि कुल रकम भ्याटसहित चार करोड १९ लाख ८२ हजार १५० रुपैयाँ बजेट सोलुदुधकुण्ड नगरपालिकाको पूर्ण अनुदान रहेको प्रमुख शर्माले बताए । योग्य र प्रेरित शिक्षक, कर्मचारी तथा विद्यार्थीमैत्री पूर्वाधार बिना गुणस्तरीय शिक्षा सम्भव नहुने भएकाले क्याम्पसको दीर्घकालीन विकासका लागि भौतिक संरचनामा लगानी अपरिहार्य रहेको उनको भनाइ छ ।

उक्त क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर तहसम्म,वाणिज्य र मानविकी संकायमा स्नातक तहसम्म पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्