राष्ट्रियसभा चुनावका लागि निर्बाचन आयोगले तोक्यो मतदान केन्द्र
काठमाडौं,२ पौष । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केनद्र तोकेको छ । आयोगले बुधबार (पुस २) गते एक विज्ञप्तिमार्फत मतदान केन्द्र तोकिएको जानकारी दिएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल हुन्छ । आयोगले तोकिएका स्थानमा प्रदेशसभा सदस्यका लागि (क) मतदान केन्द्र र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि (ख) मतदान केन्द्र रहने जानकारी दिएको छ ।
आयोगले कोसी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, कोसी प्रदेशको परिसर विराटनगरमा मतदान केन्द्र तोकेको छ ।
त्यस्तै मधेस प्रदेशमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर मतदान केन्द्र तोकिँदा बागमतीमा मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशको परिसर कास्की, लुम्बिनीमा दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा निर्वाचन केन्द्र तोकिएको छ । कर्णालीमा सुर्खेतको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिममा कैलालीको प्रदेश निर्वाचन कायालय धनगढी मतदान केन्द्र तोकिएको छ ।

