मिलाप मासिकको बनभोजमा ‘एआई’ को प्रभावबारे अन्तर्क्रिया र विमर्श



भक्तपुर,२९ मंसिर । मिलाप मासिकको आयोजनामा भक्तपुरको सूर्यविनायकमा वनभोज कार्यक्रमसँगै भाषा,साहित्य,कला,संस्कृति तथा समसामयिक विषयका रूपमा उदीयमान एआई (कृत्रिम बुद्धिमत्ता)को प्रभावबारे अन्तर्क्रिया र विमर्श गरिएको छ ।

वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका स्रष्टा, कलाकार, साहित्यकार, संगीतकर्मी, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले समय(सन्दर्भ अनुसार भाषा, साहित्य र कलामा आवश्यक परिमार्जन गर्दै ऐतिहासिक धरोहरको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,वरिष्ठ कलाकार उत्तम केसी,वरिष्ठ संगीतकार राजु सिंह,कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ,गीतकार संघका पूर्वअध्यक्ष शुभ मुकारुङ,वर्तमान अध्यक्ष वसन्त वित्यासी थापा,चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, कलाकार पुस्कर भट्ट,संगीतकार रिदम कँडेल,मिलापका सम्पादक कृष्ण भुसाल,मिलाप फाउण्डेशनका अध्यक्ष गीता अधिकारी,नायक तथा निर्देशक रिमेश अधिकारी,कलाकार तथा निर्देशक गोविन्द प्रभात, निर्देशक रामशरण कोइराला,कलाकार रश्मी पाण्डे,विराज बास्कोटा, मोडल तथा निर्देशक कृष्ण रसाल,गायक चेतन राई,रमेश पाठक, कलाकार राज टाइगर,निर्देशक तथा कलाकार आदित्य बुढाथोकी, नृत्य निर्देशक केशव कोइराला,सुनिल गिरी,सामाजिक अभियन्ता भूमिकला पौडेल,साहित्यकार धरा राई,शैलेन्द्र चापागाईं, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ,रिना श्रेष्ठ,सुरेन्द्र थापा,कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राज लुइँटेल,अमृत देवकोटा,अपराजिता सुवेदी, सन्देश पाण्डे,सृजना शर्मा,वसन्त गजमेर,सौन्दर्यविद् विक्रम गौतम,लोकहरि गेलाल,सन्देश पाण्डे,सुजन शर्मा,वसन्त गजमेर,गीता सिंह,अनुप सिंह,सफल पौडेललगायतले सक्रिय सहभागीता जनाउनुभएको थियो ।

वक्ताहरूले साहित्य,कला र संस्कृतिको प्रवद्र्धनमा सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै एआइजस्ता आधुनिक प्रविधिले सिर्जनामा पार्ने सकारात्मक र चुनौतीपूर्ण प्रभावबारे समेत विमर्श गरेका थिए । परम्परा र नवीनताको सन्तुलन कायम गर्दै नेपाली मौलिकताको रक्षा गर्नुपर्नेमा सहभागीहरूको साझा मत थियो ।

मिलाप मासिकका सम्पादक कृष्ण भुसालले मिलाप पछिल्ला १६ वर्षदेखि निरन्तर रूपमा स्वदेश तथा विदेशका समाचार, समसामयिक लेख, समीक्षा, संवाद र सवालहरू समेट्दै प्रकाशन हुँदै आएको जानकारी गराउँदै भाषा, साहित्य, कला र संस्कृतिलाई विशेष प्राथमिकता दिँदै आएको बताउनु्भयो । यस यात्रामा साथ र सहयोग पुर्‍याउने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो । त्यसैगरी कार्यकारी सम्पादक गीता अधिकारीले पत्रिकाले उठाउँदै आएका विषयवस्तु र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीको संयोजनमा चलचित्र, गीतसंगीत तथा कलासम्बन्धी प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको थियो । उक्त प्रतियोगिताका विजेताहरूलाई सुवेदीले व्यक्तिगत रूपमा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । अन्य खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमका विजेताहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो । पुरस्कारहरू काठमाडौंको डिल्लीबजारस्थित सौम्य कलेक्सनको प्रयोजनमा प्रदान गरिएको आयोजकले जनाएको छ ।

वनभोज, सांस्कृतिक संवाद, अन्तर्क्रिया र खेलकुद कार्यक्रमको समिश्रणले सहभागीहरूबीच आपसी सद्भाव, आत्मीयता र सहकार्यको भावना अझ सुदृढ बनाएको कार्यक्रमले निष्कर्ष निकालेको कार्यकारी सम्पादक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्