मधेस प्रदेशमा मन्त्रिमण्डल बिस्तार,मुख्यमन्त्री यादवले २४ गते विश्वासको मत लिने



जनकपुरधाम,२१ मंसिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एकएक जनालाई मन्त्रीमण्डलमा सामेल गराएर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ ।

नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।

यसैबीच, मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामआशीष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्