प्रज्ञा प्रतिष्ठानका कुलपतिको उपस्थितिमा नेचासल्यानमा ‘साहित्य संगोष्ठी’ आयोजना गरिने
सोलुखुम्बु,२१ मंसिर । जिल्लाको नेचासल्यान गाउँपालिकामा एक दिवसीय’नेचासल्यान साहित्य सङ्गोष्ठी’को आयोजना गरिने भएको छ।

शहीद कुसम स्मृति प्रतिष्ठान,नेपाल र नेचासल्यान गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा मंसिर २४ गते सो सङ्गोष्ठी आयोजना गर्न लागिएको हो । सङ्गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ सभा सदस्य चेतनाथ धमलाको समेत उपस्थिति रहने शहीद कुसुम स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.ले जानकारी दिए।
शहीद कुसुम स्मृति प्रतिष्ठानको सभाहलमा आयोजना हुने साहित्य सङ्गोष्ठीमा नेचासल्यान गाउँपालिकाबाट साहित्यका क्षेत्रमा कलम चलाउने २ दर्जन बढी स्रष्टाहरुलाई सम्मान,विद्यार्थीसंग कुलपति सेसन अन्तर्गत अन्तरक्रिया कार्यक्रम संचालन तथा नेचासल्यान माविस्तरीय खुल्ला कविता/गजल प्रतियोगिताको आयोजना गरिने छ ।
यसैगरी,नेचासल्यानको कला,साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुति र प्राज्ञद्धारा टिप्पणी गराउने,सर्जकहरुद्धारा रचना वाचन लगायतका कार्यक्रमहरु हुने आर. सीले बताए।
नेपाल प्रज्ञा प्रतिष्ठान सहितको सहकार्यमा साहित्य संगोष्ठी आयोजना हुनु महत्वपूर्ण भएको बताउंदै नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले साहित्य, कला र संस्कृतिको क्षेत्रमा विद्यालय तहका विद्यार्थीहरुलाई अभिप्रेरित गराउनका लागि आयोजना हुने साहित्यिक कार्यक्रमका लागि साथ र सहयोग गर्न गाउँपालिका सदैव तयार रहेको बताए।
कुसुम प्रतिष्ठानले यसअघि राष्ट्रिय स्तरमा’नेपालको सन्दर्भमा समाजवाद’ विषयक एक दिवसीय गोष्ठी,मार्क्सीय गुरुकुल,नेपाल खुला विश्वविद्यालय,नेपाल संस्कृत विश्वविद्यालय लगायतसंग मिलेर ‘मार्क्सवाद र एशियाली दर्शन’विषयक ३ दिवसीय अन्तराष्ट्रिय सम्मेलन भब्य रुपमा सफलता पुर्वक आयोजना गरेको थियो ।

