ललितपुरमा इखाछेँ महोत्सव हुने
ललितपुर,१४ मंसिर । नेवारहरुको सांस्कृतिक महत्व बोकेको महान सांस्कृतिक चाड योमरी पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका-११ इखाछेंमा सांस्कृतिक उत्सव हुने भएको छ।

ललितपुर पाटनढोका नजिकको इखाछेँमा इखाछें टोल सुधार समितिले कृत्यकला प्रा.लि व्यवस्थापनमा यही मंसिर १८ गते बिहीबारदेखि २० गते शनिवारसम्म सो उत्सव गर्न लागेको हो।
सो उत्सवमा हस्तकलाका जीवन्त प्रदर्शनी, नेवाः खाद्य परिकार र विभिन्न स्थानीय प्रतिभाहरूबाट सांगीतिक प्रस्तुति हुने समितिका अध्यक्ष सानुराजा वज्राचार्य (श्याम) ले जानकारी दिनुभयो। यस क्रममा नेवाः सांस्कृतिक नृत्यका साथै वाद्य शिरोमणि संगीत घराना पासापिं, यल रिदम, जेनिथ ब्यान्ड, इतिश्री युग अन्त्य, पर्पल भेल्भेट एनएस लाइभ गर्ने भएकोछ ।
त्यसै गरी सो टोलका प्रसिद्ध बौद्ध विहार गोपीचन्द्र महाविहार, नापीचन्द्र महाविहार, आनन्दबहाल, आल्को हिटीलगायतको विषयमा जानकारीमूलक सामग्रीहरू प्रदर्शन मा राखिने कुरा छ। सांस्कृतिक सुन्दरता, नेवाः कला-संस्कृतिको जीवन्त भव्यता र स्थानीय समुदायको उत्साहलाई एकै ठाउँ जोड्दै यो उत्सव गर्न लागेको बताइएको छ । यसले युवापुस्तामा सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गर्ने छ। यहाँको कलाकारको प्रतिभा पहिचान र प्रर्वद्धनमा टेवा पुच्याउने विश्वास गर्दछौं’- अध्यक्ष बज्राचार्यले भन्नुभयो।

