राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं,१५ मंसिर। राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ,काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने बझाङका १९ वर्षीय हेमन्त सहि ओखेडा र प्युठानका ३० वर्षीय दिपेश के.एम रहेका छन् ।
राहदानी बिभाग त्रिपुरेश्वर्को मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटो छरितो बनाइ दिने भन्दै विभिन्न प्रलोभन देखाई अतरिक्ति रकम लिइ दुःख हैरानी दिने तथा राहदानी बिभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालमाटी पठाइएको छ।

