ट्रेल धावक अर्जुन कुलुङ राईले हङकङ अक्स्फाम ट्रेलवाकर १००K मा सहभागी हुने



दिप खालिङ, काठमाडौं, १० मंसिर । नेपाली ट्रेल धावक अर्जुन कुलुङ राईले एसियाका सबैभन्दा प्रतिष्ठित तथा चुनौतीपूर्ण ट्रेल रेसमध्ये एक मानिने हङकङ अक्स्फाम ट्रेलवाकर १००K–२०२५ मा सहभागी हुन आवश्यक भिसा,आधिकारिक कागजात तथा सबै प्रकारका लोजिस्टिक सपोर्ट प्राप्त गरेका छन्। यससँगै उनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फको यात्रा औपचारिक रूपमा सुरू भएको छ।

सहभागिता सुनिश्चित गर्न Gone Running Limited, T8 Labs Limited तथा अक्स्फाम हङकङले संयुक्त रूपमा सहयोग प्राप्त गरेका उनलाई अन्तर्राष्ट्रिय साझेदारीमार्फत अर्जुनको आवास,यात्रा,सिफारिस पत्र तथा अन्य आवश्यक समन्वय भएको आयोजक पक्षले जनाएको छ।

अर्जुन पछिल्ला वर्षहरूमा देश–विदेशका कठिन ट्रेल रेसहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका एथलिट हुन्। उच्च भौगोलिक चुनौती,टेक्निकल ट्रेल र लामो दूरीका लागि चिनिने अक्स्फाम ट्रेलवाकर—जहाँ विश्वभरका शीर्ष एथलिटहरूले सहभागिता जनाउँछन्—मा उहाँले नेपालको प्रतिनिधित्व गर्नु नेपाली ट्रेल रनिङ समुदायका लागि गौरवको विषय मानिएको छ।

उनले प्रस्थान गर्नु अघि भने,“नेपालको झण्डा लिएर अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा दौडिन पाउनु मेरो लागि सम्मान हो। सबै सहयोगदाताहरूलाई धन्यवाद छ। म आफ्नो सर्वोत्तम प्रदर्शन गर्नेछु।”

नेपाली ट्रेल रनिङ समुदाय तथा खेलप्रेमीहरूले अर्जुनको आगामी प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गर्दै समर्थन जनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्