औपचारिक रूपमा घोषणा भयो प्रगतिशील लोकतान्त्रिक पार्टी
काठमाडौं,७ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टी विधिवत् रूपमा घोषणा गरिएको छ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति),जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारबीचको एकतापछि नयाँ पार्टी घोषणा गरिएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले पार्टीको नाम औपचारिक रूपमा घोषणा गरेका छन्। उनी पार्टीमा अभिभावकीय भूमिकामा रहने बताइएको छ।
पार्टीमा १५१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
पार्टीको मार्गदर्शक सिद्धान्त प्रगतिशील समाजवाद रहेको र चुनाव चिन्ह आँखा रहेको सार्वजनिक गरिएको छ। नेतृत्व समावेशी र सामूहिक भावनाका साथ अघि बढ्ने उद्देश्य रहेको नेता सन्तोष परियारले बताए।
आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको बताए ।‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भइरहेका छौं,’ शर्माले भने ।
पार्टी घोषणा सभामा शर्माले मानव विकास, विश्व र मुलुकको राजनीतिबारे विश्लेषणात्मक घोषणा पत्र प्रस्तुत गरेका थिए ।उनले विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्राहको बलिदानी खेर जान नदिन राजनीतिक पहल अनिवार्य बनेको बताए । त्यसैका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको उनको भनाइ छ ।
‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्न नभइ हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो,’ पार्टीको घोषणा पत्र वाचन गर्दै शर्माले भनेका छन् ।
राजनीतिक पुन:संरचनाका लागि प्रगतिशील पार्टी गठन भएको उनको दाबी छ । त्यसका लागि पार्टीले छिट्टै राजनीतिक पुन:संरचना सम्मेलन २०८२ आयोजना गर्ने उनले बताए ।
उनले भने, ‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुन:संरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुन:संरचना सम्मेलन आयोजना गर्नेछ ।’
संविधान संशोधन, शासकीय स्वरुप, निर्वाचन प्रणली, लोकतन्त्रको समृद्धिकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दामा सोही सम्मेलनबाट छलफल गरेर निष्कर्ष निकाल्ने उनले बताए ।

