एमालेले श्रेष्ठको संयोजकत्वमा घोषणा गर्‍यो राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’



काठमाडौँ,५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ ।

संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले छन् । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथसमेत गराए ।

अध्यक्ष ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताएका छन् ।

सो सङ्गठनको केन्द्रीय कमान्डको घोषणा गर्न आज बबरमहलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभई हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताए ।यसले जनधनको रक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षामा सहयोग पुर्‍याउने उल्लेख गर्दै उनले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए ।

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनः स्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्