सिमरामा जेन-जी युवामाथि कुटपिट गर्ने साह पक्राउ,दुई वडाध्यक्षलाई सात दिन हिरासतमा राख्न अनुमति
बारा,५ मंसिर । बाराको सिमरामा जेन-जी अभियानका युवाहरूमाथि कुटपिट गरेको आरोपमा प्रहरीले मुख्य आरोपित अरविन्द साहलाई पक्राउ गरेको छ।

बुधबार भएको घटनामा संलग्न रहेको भन्दै पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय साहलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले साहको पक्राउ पुष्टि गरेका छन्।घटनापछि बिहीबार दिनभर जेनजी युवाहरूले सिमरामा विरोध प्रदर्शन गर्दै साहलाई मुख्य दोषीका रूपमा औंल्याएका थिए।
उनीहरूले साह पक्राउ नपरेसम्म प्रशासनसँग कुनै पनि वार्ता नगर्ने अडान राखेका थिए। जेनजी मधेश प्रदेश संयोजक शिव यादवले दोषीमाथि कानुनी कारबाहीको सुनिश्चितता भएपछि मात्र वार्ताको वातावरण बन्ने बताएका थिए।जेनजी समूहले बुधबारको घटनामा संलग्न रहेको भन्दै साहसहित ६ जनाविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ।
जाहेरीका आधारमा प्रहरीले बिहीबार बिहानै नेकपा (एमाले) बाट निर्वाचित दुई जना वडाध्यक्षलाई पक्राउ गरिसकेको छ।पक्राउ परेका वडाध्यक्षहरूलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
घटनाको विषयलाई लिएर खेलकुद तथा युवामन्त्री बब्लु गुप्तासहित जेनजी अभियानका अगुवाहरू सुदन गुरुङ, शिव यादव र पुरूषोत्तम यादव जनकपुरधाम आइपुगेका छन्।
सिमरा घटनाको यथार्थ बुझ्न र पीडितलाई न्याय दिलाउन शुक्रबार जेनजीका केही अगुवाहरू सिमरा जाने बुझिएको छ।

