पदमुक्त भए मधेस प्रदेशका सभामुख मण्डल
जनकपुर,४ मंसिर । मधेश प्रदेशमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भएर सभामुख भएका सभामुख रामचन्द्र मण्डललाई संसद्को बैठकले पदमुक्त गरेको छ । मण्डलविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतबाट पारित भएसँगै उनी पदमुक्त भएका हुन् ।

बुधबार बसेको प्रदेशसभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो । बैठकमा ७८ जना प्रदेशसभा सदस्य सदस्य उपस्थित थिए । जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको छ । १ सय ७ सदस्य रहेको प्रदेशसभामा दुई तिहाइ पुग्न ७२ मत आवश्यक हुन्छ ।
जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले अविश्वासको प्रस्तावको पक्षमा मत दिएका थिए । पाँच दल एक ठाउँ उभिएपछि एमालेबाट निर्वाचित सभामुख पदमुक्त भएका हुन् ।
‘सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव पेस गर्ने प्रस्तावकहरूको तर्फबाट मा० कुमर कान्त झाले पेस गरेको प्रस्ताव प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० बमोजिमको प्रस्ताव सोही नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभाको दुई तिहाई बहुमतबाट पारित भई नेपालको संविधानको धारा १८२ को उपधारा (६) को खण्ड (ग) र नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम मा० सभामुख श्री रामचन्द्र मण्डल स्वतः पद मुक्त भएको घोषणा प्रदेशसभामा भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, प्रदेशसभा सचिव बासु प्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ ।

