दुर्गा प्रसाईंलाई बिना सर्त र अबिलम्ब रिहा गर्न राप्रपाको माग



काठमाडौं,२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अविलम्ब र बिनासर्त रिहा गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले मंगलबार (मंसिर २) विज्ञप्ति जारी गर्दै प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,“अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय,निन्दनीय र खेदजनक छ ।”

प्रसाईं गएराति भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका थिए । उनलाई पक्राउ गरिएको बिरोधमा उनका समर्थकहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडी प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्