पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा काँग्रेस नेता कोइरालाको जोड



काठमाडौं,२ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले १५ औं महाधिवेशन वैशाख वा त्यसभन्दा पनि ढिलो गर्ने गरी केही नेताहरूले अभिव्यक्ति दिइरहेकोतर्फ संकेत गर्दै ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका हुन्।

‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्‍यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ। अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन्। मेरो कुरा अहिले पनि त्यही छ- मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं,’ सम्पर्क कार्यालय विशालनगरमा आज बिहान पार्टीका ४० जनाभन्दा बढी युवाहरूसँगको कुराकानीमा उनले भने।

यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशनमा जानुपर्ने कोइरालाको भनाइ छ।

तर विशेष महाधिवेशनमा जाँदा अहिले हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत गरेरभन्दा पनि केन्द्रीय समितिबाट नै सर्वसम्मत निर्णय गरेर जाँदा उपयुक्त हुने कोइराला बताउँछन्।

‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने के गर्ने? केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने निर्णय गर्ने। बहुमतका आधारमा होइन, केन्द्रीय समितिले सर्वसम्मत निर्णय गर्ने र विशेष अधिवेशनमा जाने,’ कोइरालाले भने, ‘यसो गरियो भने विवाद कम हुन्छ र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिन्छ।’

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

ती हस्ताक्षर सनाखत गराउन सुरू गर्ने हो भने पार्टी विभाजनमा जान सक्ने दाबी गर्दै कोइरालाले विवादरहित बनाउन केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जाने निर्णय लिनुपर्ने बताए।

‘तपाईं युवाहरूले पार्टी विभाजन भएको देख्नुभएको छैन। मैले त आँखैअगाडि पार्टी विभाजन भएको देखेको छु, अहिले हस्ताक्षर सनाखत गराउन थाल्ने हो भने विभाजन हुन सक्छ, म पार्टी विभाजनको पक्षमा छैन,’ कोइरालाले भनेका कुरा उद्धृत गर्दै नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भने।

कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने वा विशेष महाधिवेशन गर्ने कि नगर्नेजस्ता विवाद छन्। असोज २८ गतेदेखि सुरू केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिए पनि सर्वसम्मत रूपमा निर्णय लिन भन्दै अहिले केन्द्रीय समिति बैठक स्थगित छ। मंसिर ४ गते दिउँसो २ बजेसम्म केन्द्रीय समिति बैठक स्थगित छ।

पार्टीभित्र देखा परेका समस्या समाधान गर्न सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूसँग अनौपचारिक छलफलमा छन्।

साथै विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पनि विशेष महाधिवेशन प्रक्रिया सुरू गर्न दबाबमूलक कार्यक्रम सुरू गर्ने भएका छन्।

कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि महाधिवेशनका पक्षमा छन्।

साथै सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरू भने चुनावअघि नियमित र विशेष महाधिवेशन गर्न नसकिने भन्दै वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

देउवानिकट २५ केन्द्रीय सदस्य भने चुनावअघि महाधिवेशनका पक्षमा उभिएका छन्।

नेताहरू र केन्द्रीय सदस्यहरू नै फरक फरक मतमा रहेकोले केन्द्रीय समितिले एकमत भएर निर्णय लिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्