भारतको बिहार विधानसभामा भाजपा पहिलो दल,गठबन्धनले ल्यायो दुई तिहाई



काठमाडौं,२९ कार्तिक । भारतको बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।

कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरेको हो । यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ। भारतीय निर्वाचन आयोगका अनुसार पहिलो दल बनेको भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीत निकालेको छ । दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जित्यो ।

अब जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।

यता राष्ट्रिय जनता दल र कांग्रेसको महागठबन्धन ३५ सिटमा मात्रै विजयी भएको छ। अन्यले छ सिट जितेका छन् । बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाव आफ्नो पक्षमा देखिएको बताउनुभएको छ । उहाँले यो जीतलाई ‘सुशासनको जीत’ भन्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्