आफ्नै सुरक्षा कमान्डरले छोडे प्रचण्डको साथ
काठमाडौं,२७ कार्तिक । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा कमान्ड सम्हालेका पूर्व जनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले प्रचण्डसँगको साथ छाडेका छन्।

संगठनमा वस्तुवादी विधि निर्माण, पछिल्लो जेन–जेड आन्दोलन र नयाँ नेतृत्व निर्माणको सवालमा प्रचण्डले बोल्ड निर्णय लिन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। सोही कारण उनले नेकपा (माओवादी केन्द्र) अर्थात् हाल नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।
पाण्डेले नेपाली कम्युनिस्ट पार्टीका संयोजकलाई पत्र लेख्दै राजीनामा घोषणा गरेका हुन्।
पत्रमा उनले लेखेका छन्— “…घटनाक्रम निरन्तरता पाउन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पदसहित नेकपा (माओवादी केन्द्र) अर्थात् हाल नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु।”
उनले पत्रमा थप लेखेका छन्— “मलाई थाहा छ, मेरो यो निर्णय मेरो ठूलो परीक्षा हो। यो परीक्षा पास गर्न चानचुने मेहनत पर्दैन। मलाई यो पनि थाहा छ, ममाथि कस्ता आरोप वा शब्द प्रयोग हुनेछन्। म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु।
यो पत्रमार्फत यत्ति भन्न चाहन्छु— तपाईं र पार्टीमा रहँदासम्म मैले इमान बेचिनँ, कुनै व्यक्तिगत फाइदा लिइनँ, नि:स्वार्थ रूपमा विचार र नेतृत्वको रक्षा गरें। स्वभावजन्य व्यवहारले कहीँ कसैलाई मन दुखाएको भए यही पत्रमार्फत क्षमा माग्दछु।”
नेकपा विभाजनपछि र सरकारले सुरक्षा दस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जनाको पूर्व जनमुक्ति सेनाको टोली प्रचण्डको निजी सुरक्षामा खटिएको थियो।

