रबिको मुद्दाको सुनुवाइ आज न्यायाधीश आचार्य र अर्यालको संयुक्त इजलासमा
काठमाडौँ,२७ कार्तिक । सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेशीमा रहेको छ।

उच्च अदालतको दैनिक पेशी सूची अनुसार न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा आजको सुनुवाइ तोकिएको हो। इजलास नं. १ मा तोकिएको लामिछानेको मुद्दासँगै छविराज जोशीको मुद्दा पनि सूचीमा समावेश गरिएको छ।
गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो। प्रतिलिपि आएपछि आजको पेशी तोकिएको उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले जनाएको छ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा गर्न माग गरेका थिए। तर, जिल्ला अदालत रुपन्देहीले गत साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासबाट उक्त माग अस्वीकार गरेको थियो।
सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। त्यसबारे सुनुवाइ गर्दै उच्च अदालतले गत साता मुद्दाको प्रतिलिपि झिकाएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ। लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत सहित अदालतमा निवेदन दिएका थिए।

