श्रोत नखुलेको १५ लाख रुपैयाँ नगदसहित चार जना पक्राउ
सिन्धुली,२६ कार्तिक । १५ लाख रुपैयाँ नगदसहित झनझनेबाट चारजना पक्राउ परेका छन् । मदनभण्डारी राजमार्ग हुँदै काठमान्डौ जाँदै गरेका एक चिनियाँ नागरिक सहित चार जनालाई हरिहरपुरगढी गाउँपालिका वडा नं. २ झनझनेमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुलीबाट काठमान्डौतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको कारको पछाडी राखिएको टायरको मुनी लुकाई राखिएको रकम सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कार चालक काठमान्डौ महानगरपालिका ३१ का २५ वर्षिय आदिल हमिद, काठमान्डौ महानगरपालिका ३१ का २१ वर्षिय आमी अमिद, रौतहट गुजरा नगरपालिका २ का ७३ वर्षका चन्द्रमान योञ्जन र चाईनिज नागरिक ३२ वर्षिय सियोङ चाङ्ग्य रहेका छन् ।
कार, कारमा रहेका चारजना व्यक्तिहरु, उनीहरुको मोवाईल र नगद समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुबेदीले जानकारी दिएका छन् । उनीहरुको साथमा रहेका पाँच वटा मोवाईल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याईएको छ ।

