रिड नेपालको रजत जयन्तीमा नेचासल्यानको सहिद नरनाथ आवि सम्मानित
काठमाडौं,२४ कार्तिक। सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वार्ड नं ३ स्थित श्री सहिद नरनाथ आधारभूत विद्यालय सम्मानित भएको छ।

गुणस्तरीय समावेशी शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएवापत ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (REED Nepal)ले आफ्नो संस्थाको रजत जयन्तीका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा सो विद्यालयलाई सम्मानित गरेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिब डा. हरि लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर बोगटीले विद्यालयका प्रधानाध्यापक कमल प्रसाद कटेललाई कदर पत्र प्रदान गरेका थिए।
कदर पत्रमा विद्यालयले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै थप कृयाशिलताको अपेक्षासहित स-धन्यवाद यो कदर पत्र प्रदान गरिएको उल्लेख छ। सोही अवसरमा बझाङको शिशुदय आवि,ललितपुरको जनजागृति मावि,पाल्पाको अमर आवि,ताप्लेजुङको सुनदेवी मावि, र धादिङको बुद्धज्योति आविलाई पनि सम्मानित गरिएको थियो ।
शिक्षकतर्फबाट संस्थाले सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित जनजागृति आवकि केशरी राई सम्मानित गरिएको रिड नेपालले जनाएको छ ।
सम्मान ग्रहणपछि बोल्दै प्रधानाध्यापक कटेलले रीड नेपालको कार्यक्रम आएपछि श्री सहिद नरनाथ आधारभूत विद्यालयमा आमूल परिवर्तन आएको जानकारी दिंदै नेपाल सरकारबाट तालिमको अवसर नपाएका शिक्षकहरूका लागि रीड नेपालको आगमन शिक्षा क्षेत्रको नयाँ युगको सुरुवात भएको बताएका थिए।
रिड नेपालको भूमिकाका कारण शिक्षकहरूमा जोश,जाँगर र उर्जा थपिने मात्रै नभएर विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको विद्यालयप्रति सक्रियता र विश्वासका साथै अभिभावकहरूमा विद्यालयप्रतिको चासो पनि बढेको उनको भनाई थियो।
रीड नेपालको निरन्तर सहयोगका कारण आज हाम्रो विद्यालय सोलुखुम्बु जिल्लाकै नमूना विद्यालयको रूपमा स्थापित भएको बताउंदै प्रधानाध्यापक कटेलले भने,-‘विद्यालयको भौतिक संरचना सुधार र शैक्षिक गुणस्तर वृद्धिका लागि दुवै क्षेत्रमा उल्लेखनीय सुधार गर्न गरेको आर्थिक तथा प्राविधिक सहयोग प्रशंसनीय छ।’

