नियुक्ति विवाद : मधेस प्रदेश मुख्यमन्त्रीको कार्यालय कार्यालय तोडफोड,सर्बोच्चमा मुद्दा
जनकपुरधाम,२४ कात्तिक। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् ।

मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।
संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।
उता,प्रदेश सरकार गठन प्रक्रियाको बिरोध जनाउँदै सदनमा रहेका ७ राजनीतिक दलले विरोध जनाएका छन्।त्यसको विरोधमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिवको कार्यकक्षमा तोडफोड भएको छ।
प्रदेश सांसदहरू सहितको टोली कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन्।प्रमुख सचिवको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा समेत उनीहरुले फ्याँकिदिएका छन्।
प्रदेश सांसद लगायतको टोलीले आएर खेलकुदको कबर्डहलमा बनाइएको मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै मन्त्रालयहरुमा तालाबन्दी गरेर गएको कार्यालयका सूचना अधिकारी उपसचिव बासुदेव मल्लले जानकारी दिए।
‘अहिले मुख्यमन्त्रीको कार्यकक्ष गृह सञ्चार तथा कानुन मन्त्रालयमा राखिएको छ। मुख्यमन्त्रीको कार्यालय अर्को ठाउँमा छ। सांसद र कार्यकर्ताहरु आउनुभएको थियो, त्यहाँ गएर भित्र तोडफोड पनि भयो। एकदुई जना कर्मचारीलाई हातपात समेत भयो,’ उनले भने, ‘सचिवज्यूहरु आइपुग्नु भएको थिएन, उप सचिवको हैसियतले सबै कर्मचारीलाई आफ्नो सुरक्षा गर्न घर जानुस भनेर पठाइदिएँ।’

