‘रिड नेपाल’ ले मनायो रजत महोत्सव
काठमाडौं,२३ कार्तिक। दुर्गम तथा ग्रामीण भेगलाई कार्यक्षेत्र बनाएर शैक्षिक सुधार तथा गुणस्तरीयताका लागि निरन्तर क्रियाशील ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ( REED NEPAL)ले स्थापनाको २५ बर्ष पुरा गरेको अवसरमा रजत महोत्सव मनाएको छ ।

संघीय,प्रदेश तथा स्थानीय सरकारसंगको समन्वय तथा विभिन्न दातृ निकायको सहयोगमा सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागी शिक्षक तालिम,शैक्षिक सामग्री वितरण, विद्यालयको भौतिक पूर्वाधार विकास, प्रधानाध्यापक लगायतका सरोकारवालाहरूको क्षमता अभिवृध्दि, जलवायु परिवर्तन तथा वातावरण अनुकूलन सम्बध्द विषयहरूका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो गैर सरकारी संस्थाले ललितपुरको स्क्वायर होटलमा शनिबार बिशेष कार्यक्रमको आयोजना गरि रजत महोत्सव मनाएको हो।
युवा तथा खेलकुद मन्त्रालयका सचिब डा. हरि लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका बक्ताहरुले दूरदराजमा शैक्षिक गुणस्तर वृद्धिका लागि सो संस्थाले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
स्थापनाको २५ बर्षमा संस्थाले उद्देश्य प्राप्तिका लागि पाएको सफलता अत्यन्तै प्रशंसनीय रहेको धारणा व्यक्त गर्दै बक्ताहरुले आगामी दिनमा थप सशक्त र प्रभावकारी ढंगले शैक्षिक बिकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि लम्साल,शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयका प्रबक्ता शिव प्रसाद सापकोटा,पाठ्यक्रम बिकास केन्द्रका कार्यकारी निर्देशक युवराज पौडेल,ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चन,उपसचिव अनन्त पौडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष सुबास आचार्य,रिड नेपालका संस्थापक मदन खनाल र शेरप शेर्पा लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए। दातृ निकाय तथा साझेदार संस्थाका प्रतिनिधिहरुले प्रत्यक्ष तथा भिडियो सन्देशमार्फत रिड नेपालले गरेको कार्यको प्रशंसा आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष डम्बर ध्वज आङदम्बेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै रिड नेपालका प्रमुख कार्यकारी भिम बोगटीले ग्रामीण क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले संस्थाको स्थापना गरिएको जानकारी दिंदै लक्ष्य राख्यो भने एक न एक दिन पुरा हुन्छ भन्ने रजत महोत्सव कार्यक्रमले पुष्टि गरेको बताए । तीनवटै तहका सरकारको सहयोग र समन्वयले संस्थालाई लक्ष्य हासिल गर्न सहज भएको उनको भनाई थियो।
संस्थाले गरेका कार्यक्रम सम्बन्धि बृतचित्र प्रदर्शन गरिनुका साथै स्मारिका समेत सो कार्यक्रममा बिमोचन गरिएको थियो । रजत महोत्सवका अवसरमा सो संस्थाले विभिन्न विद्यालय र सञ्चारमाध्यमहरुलाई समेत सम्मानित गरेको थियो ।





