थुलुङ दुधकोशीमा नि:शुल्क स्वास्थ्य शिबिर सुरु, शिबिरबाट लाभ लिन आसपासका बासिन्दालाई अध्यक्ष राईको आग्रह
सोलुखुम्बु,२२ कार्तिक।थुलुङ दुधकोशी गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको समन्वय र कादुरी एग्रिकल्चरल एड एशोसिएसनको आयोजनामा सुरु सो शिबिरको पहिलो दिन ३५४ जना स्थानीयवासीले सेवा लिएको आयोजक कादुरी एग्रिकल्चरल एड एशोसिएसन,ब्रिटिस गोर्खाज नेपालका क्याप्टेन राजन राईले जानकारी दिए।

गाउँपालिकाको केन्द्र मुक्लीस्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा सुरु भएको सोमबार शिबिरमा विभिन्न नेपाली विशेषज्ञ चिकित्सकहरूको टोलीले स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार,आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया,दाँत उपचार तथा आवश्यक परे दाँत झिक्ने सेवा,रगत,पिसाब,मुटुको ईसीजी,भिडियो एक्स–रे लगायतका परीक्षणहरू निःशुल्क गरिरहेका छन्। साथै,उपचारपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ।
सो शिबिर कार्तिक २५ गते सम्म सञ्चालन हुने जानकारी दिंदै गाउँपालिका अध्यक्ष अशिम राईले एउटै ठाउँमा बिभिन्न रोगहरुको नि:शुल्क उपचार गरिने भएकाले बृहत स्वास्थ्य शिबिरबाट लाभ लिन पालिकाबासी र आसपासका बासिन्दालाई आग्रह गरेका छन्।अध्यक्ष राईले आज सञ्चालित शिविरको अनुगमन समेत गरेका थिए।





