तपाईंबाट आश मरिसक्यो भन्दै सुधन गुरुङले मागे गृहमन्त्री अर्यालको राजीनामा



काठमाडौं,२० कार्तिक । ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृह मन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्। हत्यारा र भ्रष्टाचारीलाई कारबाही नगरेको र जेन्जीहरूलाई मात्र कारबाही गरेको आरोपसहित उनले अर्यालको राजीनामा मागेका हुन्।

सुधनले सामाजिक सञ्जालमार्फत् अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश दिँदै भनेका छन्, “सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।”

उनले थप बताएका छन् कि दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको स्थिति निराशाजनक छ। सुधनले भने, “देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ। कुनै स्पष्टीकरण दिन उचित ठानिनँ। अब तपाईंबाट आशा मरिसकेको छ।”

सुधनले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्न गरिएको नभएको पनि स्पष्ट पारेका छन्। उनले चेतावनी दिएका छन् कि यदि नेपाली जनता र जेन्जीहरूको माग सम्बोधन नभए यसपालिको चुनाव पनि हुन दिईने छैन।

सुधनले थप चेतावनी दिँदै भने, “अहिलेसम्म गृहमन्त्रीको पदमा टाँसेर बस्नु राष्ट्रप्रति अपमान हो। दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भएर कुर्ची बच्छ भनेर सोच्नु भएमा यो तपाईंको भ्रम हो। जनता जागिसके, युवा जागिसके।”

प्रतिक्रिया दिनुहोस्