बहुविवाह मुद्दामा पक्राउ परे एमाले नेता पासाङ शेर्पा



काठमाडौं,१८ कार्तिक । नेकपा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन्।

पाटन उच्च अदालतबाट बहु-विवाहसम्बन्धी मुद्धामा दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।आदिवासी जनजाति महासंघको अध्यक्षसमेत भइसकेको शेर्पा एमालेबाट सविधानसभाको सभासद्‌समेत भएका थिए ।

शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको छ ।

जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारी महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ.को दफा १० बमोजिम १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने ठहर्छ ।’

शेर्पा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनमा गएका थिए । तर, उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्