जनार्दनले घोषणा गरे नयाँ राजनीतिक अभियान, राम कार्की पनि उपस्थित



काठमाडौं,१८ कार्तिक । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । मंगलबार (कात्तिक १८) काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन् ।

पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको जानकारी उनले दिए । आफ्ना पूर्व गल्ती र कमजोरी स्वीकार गर्दै उनले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास थालेको बताए।

माओवादी, नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न आठ दल/समूहबीच पार्टी एकताको सहमति गरिएको छ । शर्मा उक्त पार्टी एकताको विपक्षमा छन् । शर्माले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताएका छन्।

पत्रकार सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखेको पनि उपस्थिति थियो । सम्मेलनमा नेता कार्कीले नेपालको कम्युनिष्ट पार्टीहरू विघटन भइसकेको टिप्पणी गर्दै केही नेताहरू र ती नेताहरूका लागि मात्र पार्टी रहेको बताए छन्।उनले भने, ‘जनता र जेन–जेड (Gen Z) को नजरबाट हेर्दा पार्टीहरू विघटित भएका छन्, केही अस्तित्वमा छैनन्।’

जेन–जेडले भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्दै आएको र भ्रष्टाचारका मुद्दा लागेका नेताहरू एकता भनेर अघि बढेको बताए। कार्कीले आफूहरूले लामो सङ्घर्ष गर्दा पनि पार्टी नेतृत्व प्रतिस्थापन गर्न नसकेको भन्दै माफी मागेका छन्।

उहाँले एकीकृत समाजवादी अभियान सुरु गर्ने घोषणा गर्दै विभिन्न समूह र व्यक्तिहरूलाई पनि सहभागिता जनाउन अपिल गरे।
file foto

प्रतिक्रिया दिनुहोस्