लोबुचे अल्टिच्युड एयर दुर्घटना : पाइलट खड्काको सकुशल उद्दार



काठमाडौँ,१२ कार्तिक । सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एन–एएमएस कल साइनको उक्त हेलिकप्टर आज बिहान ०७ः ४१ बजे पर्यटक उद्धारका लागि लोबुचेतर्फ प्रस्थान गरेको थियो। अवतरण गर्ने क्रममा बिहान ०७ः५२ बजे हेलिकप्टर दुर्घटनामा परेको कम्पनीले जनाएको छ।

दुर्घटनाका समयमा हेलिकप्टरमा पाइलट–इन–कमान्ड (पीआईसी) क्याप्टेन विवेक खड्का मात्र थिए। कम्पनीले उनी सकुशल रहेको र उनलाई काठमाडौँ ल्याइँदै गरेको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ ,‘जहाजमा चालक बाहेक अन्य यात्रुहरू नभएको र कुनै पनि मानवीय क्षति नभएको जानकारी गराउँदछौ।’

अल्टिच्युड एयरले यस संवेदनशील समयमा घटनासम्बन्धी सत्य तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्न सबैमा अनुरोध गरेको छ। घटनाबारे थप जानकारीका लागि कम्पनीका सेफ्टी म्यानेजर रश्मि न्यौपाने र मार्केटिङ अफिसर चन्द्रप्रसाद प्याकुरेललाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्