बिप्लवले गरे संसदीय मोर्चामा भिड्ने तयारी
काठमाडौं,११ कार्तिक। निर्बाचन बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले संसदीय मोर्चामा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।‘कम्युनिस्ट पार्टी नेपाल’नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेर बिप्लवले संसदीय मोर्चामा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन।मंगलबार सो पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ ।

आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहितले दल दर्ताको निवेदन दिएका हुन् ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले निर्वाचनमा गएर दलहरुको समर्थन लिने लोकतान्त्रिक अभ्यासमा लागेकामा सो दलका नेता–कार्यकर्तालाई धन्यवाद दिए ।
आयुक्त भण्डारीले विशेष परिस्थितिमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनलाई सफल तुल्याउन राजनीतिक दल र सम्बद्ध पक्षसँगको परामर्शमा आयोगले काम गर्ने विश्वास दिलाए ।विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।

